काठमाडौँ महानगर “नगर प्रहरी ऐन बनाउँदै”

  Sampatti News Online

January 15, 2023

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी अहिलेसम्म महानगरले २०७२ मा निर्माण भएको विनियमावलीअनुसार मात्रै चलिरहेको थियो । अब भने ऐन नै निर्माण गरेर नगर प्रहरीलाई ऐन मातहत राख्न खोजेको हो ।

आज राष्ट्रिय सभामा भएको १२औँ नगर सभामा विधायन समितिका संयोजक मचाकाजी महर्जनले नगर प्रहरी विधेयक २०७९ प्रस्तुत गरेका हुन् ।

महानगरका कानुन, न्याय तथा मानवअधिकार विभागका निर्देशक वसन्त आचार्यका अनुसार ऐनमा नगर प्रहरीको भर्ना, छनोट प्रक्रिया, पुरस्कार, दण्ड जरिवाना, सेवा-सुविधा, बढुवा लगायत विषयहरू समेटिएको छ ।

आचार्यका अनुसार नगर सभामा पेस भएको ऐन अब विधायन समितिमा दफावार छलफल भएर पेस हुनेछ । त्यसपछि नगर सभा सदस्यहरूले पास, फेलको निर्णय गर्छन् ।

शुक्रबार नगर सभामा सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक पेस भएको छ । यो विधेयक महानगरले पहिलो पटक ल्याएको हो ।

यस्तै नगर सभामा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्त सम्बन्धी ऐन, २०७७ पेस भएको छ । आन्तरिक लेखा परीक्षण तथा सङ्गठन संरचनाको संक्षिप्त अध्ययन सम्बन्धी प्रस्ताव नीतिगत निर्णयका लागि पेस हुनेछन् । आजको नगर सभामा आर्थिक ऐन संशोधनका लागि पेस भएको छ ।

यस्तै महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ वर्षको आय पनि प्रक्षेपण गरेको छ ।

समितिको बैठकले नै आर्थिक वर्ष २०८०/०८१ का लागि सम्पत्ति करमा पुनरावलोकन गर्ने विषयमासमेत छलफल गरेको थियो ।

महानगरले गएको ७ वर्षदेखि सम्पत्ति करमा पुनरावलोकन गरेको छैन । काठमाडौँ महानगरपालिकाको राजस्व ऐन २०७५ को दफा ८ (१) मा हरेक २ वर्षमा कर पुनरावलोकन गर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति:January 15, 2023