शेयर बजारमा ३२.७२ अंकको वृद्धि

  Sampatti News Online

January 17, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको पहिलो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको हो ।  त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको बजारमा यस दिन २५० स्टकको ६३ हजार ४३० पटकको कारोबारमा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस बाहेक यस दिन हिमालयन हाइड्रोपावर, बलेफि हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको प्रभु सेलेक्ट फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक गरेसँगै कम्पनीको शेयर कारोबार बढेको हो। त्यसैगरी, यस दिन अपर तामाकोशीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुपको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक यस दिन ५.०४ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक यस दिन साढे ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। बैंक उपसमूहको परिसूचक भने यस दिन ०.३२ प्रतिशत घटेको छ।

प्रकाशित मिति:January 17, 2023