शेयर बजारमा ९.०१ अंकको गिरावट

  Sampatti News Online

January 18, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले घटेकोे छ । आज नेप्से ९.०१ अंकले घटेर दुई हजार एक सय ७३ दशमलब १० विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको थियो ।   त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन करिब ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २४८ स्टकको ६९ हजार ६३७ पटकको कारोबारमा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य यस दिन सर्वाधिक ७.८९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो र मिथिला लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ३५ करोड ७८ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणपश्चात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन्। यस दिन अपि पावरको करिब २० करोडको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको करिब १५ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.०९ प्रतिशत घटेको छ।

प्रकाशित मिति:January 18, 2023