आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गरे : गृहमन्त्री रवि लामिछाने

  Sampatti News Online

January 25, 2023

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् । 

नयाँबानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई लगिएको किर्तिपुरस्थित अस्पतालमा पुगेर गृहमन्त्री लामिछानेले मृतक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् । 

उनले मृतक प्रेमप्रसादले उठाएका विषयमाथि छानबिन आश्वासन पनि दिएका छन् । मृतकको आफन्तलाई भेट्नुअघि बुधबार बिहान सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरूको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका थिए । 

आफूहरू जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसक्नुमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेले भनेका थिए ।

‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्न सक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु। हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ। म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन,’ गृहमन्त्री लामिछानेले भने।

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षा सुनिश्चित गर्न, आफूलाई सक्ने रोजगारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरिन्। उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन्।

प्रकाशित मिति:January 25, 2023