नेपालको तेस्रो राष्ट्रपति काे बन्लान् ?

  Sampatti News Online

January 26, 2023

काठमाडौं । अब नेपालको तेस्रो राष्ट्रपति बन्ने भाग्य कसको चम्किएला भन्ने निकै चासो देखिएको छ । एमालेभित्र केही नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै तेहोर्‍याउन सकिन्छ कि भनेर पनि कानूनी परामर्श गरेको स्रोत बताउछ । संविधानले दुईपटकभन्दा बढी राष्ट्रपति हुन रोक लगाएका कारण त्यो संभावना देखिएन ।

त्यसपछि राष्ट्रपतिका लागि केही पात्रहरु चर्चामा रहन थालेका छन् । २०७९ माघ ७ गते शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणमान विजुक्छेलाई भेट गरेपछि थप बहसको विषय बनेको छ । एमालेले आफ्नो भागको राष्ट्रपति उम्मेदवारमा विजुक्छेलाई अगाडि सार्न सक्नेसम्मको विश्लेषण हुन थालेको छ । एकथरी मानिसहरुले विजुक्छेलाई राष्ट्रपति बनाउनुपर्ने तर्क पनि गरिरहेका थिए ।

त्यसो त, अहिले चित्रबहादुर केसीको नाम पनि राजनीतिक बजारमा चर्चा हुन थालेको छ । संघीयताको ठाडो विरोध गर्दै आएका केसीलाई राष्ट्रपति बनाउनुपर्ने धारणा अगाडि सारिएका छन् । यी दुईबाहेक राजनीतिक तहबाट सुुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यको नाम निकै अगाडि आएको छ ।

अष्टलक्ष्मी शाक्यलाई चाहिं सबै क्षेत्र, वर्गका साथै जनस्तरबाट पनि समर्थन रहेको पाइन्छ । एमालेका उपाध्यक्षद्वयको नाम खासमा निकै चर्चामा रहेको छ । त्यही क्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाममा पनि एमालेभित्र चर्चा भइरहेको छ । तर, नेपालको राष्ट्रपतिमा नेपाली सेनाको पनि चासो रहने भएका कारण पोखरेलको विपक्षमा अप्रत्यक्ष रुपमा सेना पनि उभिन सक्ने संभावना रहेको बताइन्छ ।

त्यसो त, नेम्वाङको पक्षमा पनि सेना नउभिने चर्चा एमालेभित्र भइरहेको छ । त्यसबाहेक एमालेबाट डोरमणि पौडेल, गुरु बराल, गोमा देवकोटाको नाम पनि चर्चामा आएका छन् । एमाले अध्यक्ष केपी ओलीले कसैले नसोचेको नाम प्रस्ताव गर्न सक्ने अनुमान भइरहेको छ । सभामुख चयनको बेलामा पनि धेरैले अनुमान नगरेको पात्र देवराज घिमिरेलाई अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए ।

एमालेका अन्य नेताहरुले केही नबोलेपछि घिमिरे सर्वसम्मत निर्णयमा पुगे र सभामुख निर्वाचित भए । त्यसरी नै ओलीले नसोचिएको व्यक्तिलाई राष्ट्रपतिमा प्रस्ताव गर्न सक्ने बताइएको छ । कांग्रेसबाट पनि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आएको छ । बाबुराम भट्टराई र माधव नेपालको नाम पनि चर्चामा आउन थालेको छ ।

यी नामहरु भने एमाले र माओवादी केन्द्रको गठबन्धन भत्काउने रणनीतिसंग जोडिएको छ । साथै, अहिलेका उपराष्ट्रपनि नन्दकिशोर पुन र पूर्वसभामुख अग्नि सापकोटाको नाम पनि चर्चामा छन् ।

यी नामहरु पनि गठबन्धन भत्काउने रणनीतिसँग जोडिन्छन् । प्रचण्डले एमालेलाई कुनै हालतमा राष्ट्रपति नदिने निचोडमा पुगेका बेलामा मात्रै यी नामहरु अगाडि सारिने अवस्था हुन सक्छ ।

प्रकाशित मिति:January 26, 2023