एकमहिने अग्रिम अनलाइन आवेदन खुला: राहदानी विभाग

Nepal Cover
१६ माघ २०७९, सोमबार
image

राहदानी विभागले एक महिनाको अग्रिम अनलाइन आवेदनको व्यवस्था गरेको छ। विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको अग्रिम अनलाइन आवेदन खुला हुने जनाएको छ।

हाल दुईदेखि तीन दिनको मात्रै अग्रिम अनलाइन आवेदनको व्यवस्था रहेकामा अब एक महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्।

उनका अनुसार दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो। यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ। आज प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ सम्ममा समय पाइनेछ। 

विभागसहित विदेशमा रहेका कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि–इनरोलमेन्ट गराउनेछन्। 

काठमाडौंनजिकका जिल्लामा १० देखि १२ दिनभित्र, तराईका जिल्लामा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लामा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गरिने विभागले जनाएको छ।