परराष्ट्रमन्त्री पौड्याल बिहीबार पहिलो पटक विदेश भ्रमणमा जाँदै

Nepal Cover
१७ माघ २०७९, मंगलवार
image

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ।

श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ।

परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेले यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेशमन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन्।

भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नेछन्। उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीलगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ।

मन्त्री डा. पौड्याल बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछिन्। शुक्रबार विभिन्न ‘साइडलाइन मिटिङ’ हरू हुने र शनिबार मुख्य समारोहमा सहभागी हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ। भ्रमण सम्पन्न गरी उनी आइतबार नेपाल फर्किने कार्यक्रम छ।