कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने

  Sampatti News Online

February 2, 2023

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनमा अरु राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

उनका अनुसार संसदीय दलको बैठक माघ २६ गतेबस्ने भएको छ । संसद्भित्रको व्यस्तताका कारण केन्द्रिय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको उनले बताए । 

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति–उपराष्ट्रपति र सभामुख–उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोहीअनुसार वार्ताका लागि बोलाए कांग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताए । उनले प्रधानमन्त्रीले सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेन्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने बताए । प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए । 

प्रकाशित मिति:February 2, 2023