बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ ल्याउँछौँ: खानेपानीमन्त्री खाँन

Nepal Cover
२२ माघ २०७९, आईतवार
image

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन्।

शनिबारसिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका उनले आयोजना नियमित सञ्चालनका लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी फास्टट्रयाकमा काम गरिने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री खानले नीतिगत समस्यालाई हल गर्दै कर्मचारीको समस्यालाई पनि सम्बोधन गरिने बताए। सोही क्रममा उनले स्थनीयवासीले उठाएका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाए।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनामा हालसम्म भएको लगानी, विसं २०७८ असारमा गएको बाढीले पुर्याएको क्षति र नियमित आयोजनामा सञ्चालनका लागि गर्नुपर्ने कामका विषयमा समेत विस्तृत जानकारी दिएका थिए। उनले खानेपानी समिति नहुँदा तलब, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताए।

बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब रु दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ। आयोजनाको मुहानस्थलमा निर्माण भएकोे पक्की संरचना बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोलहाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरण र कन्ट्रयाक्टर लेबर क्याम्पसमेत बगाएको थियो। आयोजना निरीक्षणका क्रममा मन्त्री खानसहित खानेपानी सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोलीलगायत मुहानस्थल पुगेका थिए।