राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

  Sampatti News Online

February 10, 2023

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । आज (शुक्रबार) दिउँसो ३ बजे भण्डारीले संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने विशेष सम्बोधनलाई ‘बिदाइ सम्बोधन’को रूपमा हेरिएको छ । नेपालको संविधानले एक व्यक्ति दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने प्रावधान राखेको छ । निर्वाचन आयोगले पनि मुलुकको तेस्रो राष्ट्रपतिका लागि आगामी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्य तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार नयाँ राष्ट्रपतिको निर्वाचनका लागि तयारी सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । 

दुई कार्यकालको जिम्मेवारी सम्हालेकी राष्ट्रपति भण्डारीले शनिवार साँझका लागि साँझ रात्रि भोजको समेत आव्हान गरिसकेकी छिन् । उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, मन्त्रीहरू, सुरक्षा निकायका तीनै प्रमुखहरू, मुख्यमन्त्री, सांसदहरू, संवैधानिक निकायका प्रमुख र उच्च अधिकारीहरू, कूटनीतिक नियोगका अधिकारीहरूलाई निम्तो गइसकेको छ । 

उनी नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा नाम दर्ज गरेर २५ फागुनबाट औपचारिक रूपमा बिदा हुँदै छिन् । 

त्यसपछि संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले आज दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई भण्डारीले सम्बोधन गर्न लागेकी हुन् ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

प्रकाशित मिति:February 10, 2023