सरकार र आन्दोलनरत मजदुरबीच ५ बुँदे सम्झौता

  Sampatti News Online

February 14, 2023

काठमाडौँ । सोमबार साँझदेखि आन्दोलनमा उत्रिएको मजदुर सङ्गठनहरू र सरकारबीच ५ बुँदे सम्झौता भएको छ । आज बिहान ९ बजेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्ताबाट दुईपक्षबीच ५ बुँदे सम्झौता भएको मन्त्रालयको सचिवालयले जानकारी दिएको छ ।

सहमतिका बुँदाहरू :

१. उपत्यकाबाट बाहिर सञ्चालन हुने सवारी साधनका सम्बन्धमा उठेका विषयहरूका सम्बन्धमा मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यातायात सुचारु सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई अनुरोध गर्ने ।

२. मिति २०७९/११/०१ गते काठमाडौँस्थित गोङ्गबु नयाँ बसपार्कमा मजदुरहरूले गरेको कार्यक्रममा भएको घटना दुःखपूर्ण रहेको र लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मिति २०७९/११/१ र २ गते पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहाइ गर्ने

३. क) ती २०७९/१०/११ गते समग्र यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय यातायात सुधार सुझावका लागि कार्यदल गठन भएकोले सो कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने
ख) मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासङ्घ, सङ्घ र सङ्गठनका प्रतिनिधिहरूलाई आवश्यकता अनुसार आमन्त्रण गर्ने

४. मिति २०७९/११/०२ गते आव्हान गरिएको सार्वजनिक यातायात हडताल कार्यक्रम स्थगन गर्ने र यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यसअघि आव्हान गरिएका सबै कार्यक्रम स्थगन गर्ने

५. काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रा. लि. बीच गोङ्गबुस्थित नयाँ बसपार्कको लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौँ महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने, काठमाडौँ महानगरपालिकाले यसको अनुगमन गर्ने साथै उक्त प्रा.लि., महानगरपालिका र सम्बद्ध मजदुर सङ्घ-सङ्गठनहरू र यातायात व्यवसायी महासङ्घहरूबिच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने

प्रकाशित मिति:February 14, 2023