प्रचण्डले नै एमालेलाई राष्ट्रपति लिनुस् भन्नुभएको हो : योगेश

  Sampatti News Online

February 18, 2023

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने बताएका छन् ।

प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् ।

सचिव भट्टराईले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपति एमालेलाई दिन सहमति जनाइसकेको बताए । ‘प्रचण्ड कमरेड आफैले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो । एमाले माग्न गएको होइन । राष्ट्रपति एमालेकै हुन्छ ।’

उनले चुनावी गठबन्धन एमालेको कारणले नभई आफ्नै कारणले टुटेको बताए । ‘प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको हो’ उनले भने, ‘१० पुसको सहमति मान्न रास्वपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी सबै मान्न तयार छन्, तर माओवादीले नमान्ने भन्ने हुँदैन ।’

‘हामी हरेक घरमा पुग्ने र जनताको वास्तविक अवस्थाका बारेमा बुझ्ने प्रयास रहन्छ’, उनले भने, ‘अहिले पाएको जनमत भन्दा राम्रो नतिजा ल्याउने गरी अग्रसर हुनेछ ।’ उनले अब एमालेलाई जवान पार्टी बनाउनतर्फ लागिएको बताए । एमालेले थालेको दुई महिने पार्टी सुदृढीकरण अभियानलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति:February 18, 2023