गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर

  Sampatti News Online

February 21, 2023

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोज कुमार दाहाल र सव–इञ्जिनियर नविन कुमार विसीविरुद्ध मुद्दा दायर गरेको हो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६।०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं. ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन इञ्जिनियर सरोज कुमार दाहाल र तत्कालीन सव–इञ्जिनियर नविन कुमार विसीको मिलेमतो देखिएको आयोगले जनाएको छ ।

उनीहरुले आपसी मिलेमतो गरी निगालपानी रेग बगौरा सडक निर्माण योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाईछिपाई नभए नगरेको कुरा देखाएको अख्तियारले जनाएको छ । उनीहरुले भ्रष्टाचार गरेको देखिएकोले आयोगले उनीहरुविरुद्ध आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रकाशित मिति:February 21, 2023