February 22, 2023
काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले शीर्ष नेताहरुको दौडधुप बढेको छ । राष्ट्रपति लिने निर्णय सार्वजनिक गरेरै नेपाली कांग्रेसका नेताहरु सत्ता गठबन्धन भत्काउन लागिपरेका छन् ।
त्यसका लागि माओवादी केन्द्रलाई एमालेबाट अलग गराउने उनीहरुको प्रष्ट लक्ष्य छ । जवाफमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन जोगाउन राष्ट्रपतिका लागि एकपछि अर्को नेतालाई प्रस्ताव गरिरहेका छन् । एमालेका एक पदाधिकारी, गठबन्धन जोगाउन अनेक विकल्पमा प्रयत्न भइरहेको स्वीकार्छन् । ‘राजनीतिक स्थिरताका लागि पनि यो गठबन्धन जोगिनुपर्छ भनेर अनेक विकल्पमा अध्यक्ष कमरेडले प्रयत्न गरिरहनुभएको छ’, ती पदाधिकारी भन्छन् ।
तर राष्ट्रपतिमा सहयोग गर्ने कांग्रेसलाई बचन दिइसकेका प्रचण्डले मन नबदलेसम्म ओलीको कार्डले काम गर्ने सम्भावना न्यून रहेको नेताहरु बताउँछन् । आइतबार साँझ बालुवाटारमा भएको छलफलमा कांग्रेसलाई राष्ट्रपतिमा सघाउने बचन प्रचण्डले दिइसकेका स्रोतहरु बताउँछन् ।
प्रचण्डको त्यही बचनपछि नै एमालेले पनि दल बाहिरबाट एकपछि अर्का नेतालाई राष्ट्रपति प्रस्ताव गर्न थालेको हो । एमालेसम्वद्ध स्रोतका अनुसार माधव नेपाल, झलनाथ खनाल र अमिक शेरचनलाई राष्ट्रपतिमा प्रस्ताव गरिएको छ ।
माओवादी केन्द्रबाट लुम्बिनीको प्रदेश प्रमुख रहेका अमिक शेरचनलाई एमाले नेताहरुले राष्ट्रपति स्वीकार गर्न सक्ने सन्देश पठाएका थिए । लगत्तै, शेरचनले प्रधानमन्त्री प्रचण्डका साथै कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका थिए । तर देउवाले ‘ढिला भयो’ भन्ने जवाफ दिएपछि उनी रोकिए ।
यो बीचमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाएर अहिलेको सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै नेताहरुले लबिइङ थालेका थिए । नेसपा सहअध्यक्ष एवं बाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगा नारायण श्रेष्ठ लगायतले एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुलाई भेटेका थिए । स्रोतका अनुसार एमाले नेताहरुले भट्टराईलाई स्वीकार गर्छौं पनि भनेनन्, अस्वीकार पनि गरेनन् ।
यस बीचमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र नेसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता गराउने प्रयास पनि भएको थियो । तर त्यसले मूर्त रुप लिएन । प्रचण्डले आफूलाई अघि सार्ने सम्भावना नदेखेपछि भट्टराईले एमाले र माओवादी दुबैले स्वीकार गर्ने वामपन्थी पृष्ठभूमिका व्यक्ति खोज्न आग्रह गरेका थिए ।
त्यसक्रममा एमाले नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि राष्ट्रपतिको प्रस्ताव राखेका छन् । अध्यक्ष नेपालसँग त ओली आफैंले सांसद किसान श्रेष्ठको निवासमा भेटवार्ता गरेका थिए ।
नेताहरुका अनुसार, एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने र नेपाललाई राष्ट्रपति बनाउने ओलीको प्रस्ताव थियो । पूर्व प्रधानमन्त्री नेपालले पनि राष्ट्रपति बन्न चाहना देखाएका छन् । तर कांग्रेस र माओवादीले समर्थन गर्ने अवस्था आएमात्र अघि बढ्ने उनको सर्त छ ।
कांग्रेस र माओवादीका नेताहरु भने नेपाललाई राष्ट्रपति बनाउने पक्षमा देखिएका छैनन् । दुबै दलका नेताहरु ओलीको प्रस्तावलाई बन्न लागेको सहमति भाँड्ने प्रयासका रुपमा अथ्र्याउँछन् । माओवादीका एक पदाधिकारी भन्छन्, ‘यदि माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको हो भने एमालेले औपचारिक रुपमा निर्णय गर्नुपर्यो । राष्ट्रिय सहमति जुटाउन बैठक बोलाउनुपर्यो नि !’ त्यसपछि मात्र माओवादी केन्द्रले यो विषयमा बोल्ने उनले बताए ।
कांग्रेस नेताहरु पनि प्रचण्डलाई आफूहरुसँग सहमति गर्न गाह्रो होस् भनेर मात्र एमाले अध्यक्ष ओलीले नेताहरुलाई राष्ट्रपतिको प्रस्ताव राख्दै हिँडेको बताउँछन् । एक नेताका अनुसार, आइतबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमै एमाले अध्यक्ष ओलीले चाल्नसक्ने कदमबारे आंकलन गरिएको थियो ।
‘प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिन्छु भन्छन्, माधव नेपाल र झलनाथ खनाललाई पालापालो राष्ट्रपतिको प्रस्ताव गर्छन् । भएन भने कांग्रेसलाई राष्ट्रपति दिन्छौं, दुबै दल मिलेर सरकार चलाउँ भन्न सक्छन्,’ कांग्रेसका एक नेता भन्छन् ।
तर कसलाई राष्ट्रपति बनाउने भन्ने प्रचण्डको हातमा भएकाले ओलीको प्रस्तावको कुनै अर्थ नहुने कांग्रेस नेताहरुको बुझाइ छ । उनीहरुका अनुसार प्रचण्डलाई राष्ट्रपति को भन्ने जति चिन्ता छ, त्यो भन्दा धेरै सरकार सञ्चालनमा चासो छ । र, ओलीसँग बसेर सरकार सञ्चालन गर्न सकिन्न भन्ने निष्कर्षमा उनी पुगिसकेका छन् । स्रोतका अनुसार बन्द कोठामा हुने छलफलहरुमा प्रचण्डले सरकार बनेको ‘४८ घण्टामै ओलीसँग आजित भएँ’ भनेर सुनाउने गरेका छन् ।
ओलीले संसदको पहिलो बैठकमै संविधानसभा विघटनको वकालत गरेपछि त आफ्नो राजनीतिक लाइन पनि नमिलेको प्रचण्डको भनाइ छ । ‘विकल्प नभएको भए दबिएर भए पनि बस्थे होलान, तर कांग्रेसले विकल्प दिएपछि उनी एमालेसँग नबस्ने मुडूमा छन्’ एक नेता भन्छन् ।
एमालेका एक पदाधिकारीले पनि राष्ट्रपतिको विषय प्रधानमन्त्री प्रचण्डका लागि बाहना मात्र भएको बताउँछन् । राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति केन्द्रको दबावमा रहेको र प्रचण्डले कांग्रेससँग सहकार्य नै ‘कम्फर्टेबल’ मानेको उनको बुझाइ छ ।
प्रकाशित मिति:February 22, 2023
November 23, 2024