प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

  Sampatti News Online

February 22, 2023

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।

राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन मात्र समय बाँकी रहँदा ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

राष्ट्रपति चयनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।

ओली र प्रचण्डबीच बाक्लो भेटवार्ता भए पनि राष्ट्रपति निर्वाचनमा दुई दल एक ठाउँमा उभिन सकेका छैनन्।

प्रचण्डले एकातर्फ राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने बताइरहेका छन् भने अर्कोतर्फ काँग्रेसलाई राष्ट्रपति दिने वचन दिएका छन्।

प्रचण्डले एमालेबाट राष्ट्रपति स्वीकार गर्ने पार्टी भित्र स्पष्ट गरिसकेका छन्। तर एमालेलाई ठ्याक्कै मुख खोलेर भनेका छैनन्। यस्तो अवस्थामा दुई नेताबीच बालुवाटारमा भेट हुन लागेको हो।

एमालेको साथ लिएर पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डलाई पुस २६ गते नेपाली काँग्रेसले पनि संसदमा विश्वासको मत दिएको थियो।

त्यसयता सत्तारूढ दुई दलका नेताबीच घण्टौँ छलफल भए पनि विश्वासको वातावरण बन्न सकेको छैन।

प्रकाशित मिति:February 22, 2023