नेप्सेमा उच्च अंकको गिरावट

Nepal Cover
११ फाल्गुन २०७९, बिहीबार
image

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट भएको छ । आजको कारोबार शुरुदेखि नै ओरालो लागेको नेप्से ५७ अंक भन्दा बढीले घटेर बन्द भएको हो ।  

नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्तलाई दिएको कडा निर्देशनका कारण बिहीबार, लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ। यस दिन ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको छ । आज नेप्सेमा भारी अंकको गिरावट भए पनि कारोबार रकम दुई अर्ब नाघेको छ । आज दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य राताम्मे भएको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार कर्जा विस्तारदेखि लाभांश वितरणसमेतमा कडाइ गरेपछि लघुवित्तको शेयरमूल्यमा पहिरो गएको हो । उक्त कडाइका कारण आज ३७ वटा लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने ८ वटा लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।  

उच्च अंकले घटेको बजारमा नेपाल हाइड्रो डेभलपर्स, सामलिङ पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी बढेको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेकी लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।