स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न प्रस्ताव

  Sampatti News Online

March 1, 2023

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले स्रोत नखुलेको व्यक्तिको सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

स्रोत नखुलेको सम्पत्तिलाई वैधता दिँदा आपराधिक क्रियाकलाप मार्फत जम्मा गरेको अवैध धन शुद्धीकरण हुन सक्ने भन्दै सांसद सापकोटाले त्यस्तो सम्पत्ति सोझै राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै कसुर पुष्टि नभएको तर स्रोत खुलाउन नसकेको सम्पत्तिमा कर निर्धारण गरेर नियमित बनाउने प्रस्तावसहितको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको हो ।

२७ माघ २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को दफा ३० मा स्रोत नखुलेको सम्पत्ति कर तिरेर नियमित गर्न सकिने व्यवस्था छ ।

विधेयकमा सम्पत्तिको स्रोत खुलाउन नसकेको र अनुसन्धान गरिएको व्यक्ति उपर कुनै अरु कसुर र सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा चल्ने अवस्था नदेखिएमा स्रोत खुलाउन नसकेको सम्पत्तिको कर निर्धारण गर्न सकिने व्यवस्था छ ।

विधेयकमा सम्पत्तिको कर निर्धारणका लागि पत्र आएमा आन्तरिक राजस्व विभागले कर सम्बन्धी कसुर गरे वा नगरेको यकिन गर्नुपर्ने प्रस्ताव गरिएको छ । कुनै कसुर नभेटिएमा त्यो वर्षको आय मानेर अधिकतम कर निर्धारण गर्नुपर्ने प्रस्ताव छ ।

अपराधिक क्रियाकलापमार्फत जम्मा भएको अवैध धन प्रमाणित गर्न नसकिने सामान्य व्यक्तिको नाममा जम्मा हुने औँल्याउँदै उनले भनेका छन्, ‘स्रोत नै खुलाउन नसक्ने त्यस्तो सम्पत्ति राष्ट्रियकरण एवं राज्यको ढुकुटीमा जम्मा हुने व्यवस्था विधेयकमा राख्ने ।’

आफूले व्यक्तिगत रूपमा संशोधन प्रस्ताव राखेको उल्लेख गर्दै सापकोटाले भने, ‘मैले पार्टीमा छलफल गरेको छैन । यो मेरो व्यक्तिगत धारणा संशोधनमा राखेको हुँ ।

प्रकाशित मिति:March 1, 2023