दस दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु

Nepal Cover
१४ चैत्र २०७९, मंगलवार
image

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। मन्त्रालय भागबण्डा मिलाउन बैठक बसेको हो। स्रोतका अनुसार गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँड टुंगो लगाउने छ। 

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई विस्तार गर्न निरन्तर छलफल गर्दै आए पनि दलहरूबीच आन्तरिक सहमति अहिले सम्म नहुँदा मूर्तरुप लिन नसकेको माओवादी केन्द्रका एक पदाधिकारीले बताए छन्। 

प्रचण्ड प्रधानमन्त्री भएको तीन महिना भयो। तर, अझै पनि सरकार पूर्ण भएको छैन। १६ मन्त्रालय प्रधानमन्त्रीकै काँधमा छ । 

प्रचण्ड नेतृत्वको सरकारलाई १० दलको समर्थन छ। माओवादी केन्द्रसहित, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने तयारीमा छन्। कांग्रेसले अर्थ मन्त्रालयसहित आठदेखि १० मन्त्रालयको दाबी गरिरहेको छ। माओवादी केन्द्रको गृहसहित कम्तीमा ५ मन्त्रालयको दाबी छ। 

रास्वपा, जसपा, एकीकृत समाजवादीले महत्त्वपूर्ण मन्त्रालयसहित तीन/तीन मन्त्रालयको दाबी गरेका छन्। रास्वपाले उपप्रधानमन्त्रीसहित केही मन्त्रालय दाबी गरेको छ। जनमतले कृषि, पशुपन्छी वा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको छ। नागरिक उन्मुक्ति र लोसपा पनि शक्तिशाली मन्त्रालय माग गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय छन्। यो मिलाउन सत्तारुढ दललाई सकस नै भएको छ। अझ स्वतन्त्र सांसद अमरेशकुमार सिंह र प्रभु साहको मन्त्रीमा दाबी छ। पार्टीभित्रै आकांक्षी धेरै छन्। जसले गर्दा कसलाई मन्त्री बनाउने भन्ने पार्टी–पार्टीभित्र पनि आन्तरिक विवाद छ।