उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

April 2, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन जना विरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

सर्लाहीको हरिपूर्वा ५ स्थित केश्वर गरिब जनता माविमा अध्यापनरत पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार विशेष अदालत पुगेको हो ।
अख्तियारका सहसचिव भोला दाहालका अनुसार,सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको रूपमा नियुक्ति पाएका पाँचु राय र प्रधानाध्यापक नारायण प्रसाद बरालले अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधि गरेको आरोपपत्र सहित विशेषमा मुद्धा दायर गरिएको छ ।भ्रष्टाचार मुद्धामा डामिएका उपसचिव तिमल्सिना हाल लालबन्दी नगरपालिका,नगरकार्यपालिकाको कार्यालय सर्लाहीको शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत छन् ।

अख्तियारद्धारा दायर गरिएको आरोपपत्रमा नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षकमा नियुक्त गरेको आरोप लगाइएको छ ।

सर्लाहीको उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साबिक डिम जनता उच्च माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको निर्णयानुसार भनी उच्च माध्यमिक शिक्षक, शिक्षक अनुदान कोटातर्फको अर्थशास्त्र विषयको शिक्षक पदमा करार नियुक्त गरेको भनी नक्कली लिखत बनाई वदनियतपूर्वक नियुक्तिको लिखत तयार गरी सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाई नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा ९ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना गर्न माग दाबी गरिएको सहसचिव भोला दाहालले जनाएका छन् ।

प्रकाशित मिति:April 2, 2023