श्रीमतीलाई भन्सार एजेन्ट बनाउने सुब्बा बिरुद्ध विशेष अदालतमा मुद्दा

  Sampatti News Online

April 2, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभाग, काठमाडौँका तत्कालीन नायव सुव्वा (हाल अवकाश प्राप्त) रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले आइतबार विशेष अदालतमा पूर्व नासु घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

उनले पदमा रहँदा गैर कानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । भन्सार विभागमा कार्यरत रहेकै अवस्थामा २०७५ फागुन १ मा उनले राजीनामा दिएका थिए ।

सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा देखिएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ । आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै अख्तियारले गैर कानुनी सम्पत्तिका रूपमा किटान गरेर २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो‚ त्यति नै जरिवाना र गैर कानुनी सम्पत्तिबाट बढेरबढाइएको चल अचल सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी गरेको छ ।

अनुसन्धानबाट खुलेबमोजिम आरोपितविरुद्ध बिगो जरिवाना र गैर कानुनी सम्पत्ति जफत हुने गरी मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाइएको छ । अर्घाखाँची स्थायी ठेगाना भएका गौतम अहिले कलङ्कीमा बस्दै आएका छन् । उनकी श्रीमती शारदा भन्सार एजेन्ट रहेको समेत खुलेको छ ।

प्रकाशित मिति:April 2, 2023