काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाे छ।
सोमबार बिहान पौने ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लामिछानेले सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएका हुन्।
आफ्ना समर्थक सहित उनले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन कार्यालयमा उमेदवारको प्रतिनिधिका रुपमा जिल्ला सहसंयोजक प्रभा ढकाल रहेकी छन् । भरतपुर ४ त्रिचोकमा रहेको लंकु भगवती मन्दिरमा पुजा गरेर लामिछाने मनोनयन दर्ता गर्न पुगेका थिए ।
लामिछानेको नागरिकतासम्बन्धी मुद्धामा दोषी ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि बैशाख १० मा उपनिर्वाचन गर्न लागेको हो । उपनिर्वाचनका लागि दिउँसो १ बजे नेपाली कांग्रेसले मनोनयन दर्ता गर्दैछ ।
निवर्तमान जिल्ला सभापति जीत नारायण श्रेष्ठले उमेदवारी दर्ता गर्दैछन् । भरतपुरको चौविस कोठीमा भेला भएर कांग्रेसका कार्यकता उमेदवारी दर्ताका लागि जाँदैछन् । यस्तै नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उमेदवार बनाएको छ । एमालेले दिउँसो तीनबजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।