पेट्रोलियम पदार्थको मूल्य घट्यो

  Sampatti News Online

April 4, 2023

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य हिजो घटाएको थियो । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

राति १२ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर अमेरिकी डलर ७० (अर्थात् करिब रु १० प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ। 

घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म अब पेट्रोल रु १७५ प्रतिलिटर, डिजेल र मट्टितेल रु १७०, हवाई इन्धन (आन्तरिक) रु १६० कायम भएको छ। 

खाना पकाउने एलपी ग्यासको मूल्य रु १८०० यथावत राखिएको छ। ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि निगमालाई प्रति सिलसण्डर ५४५ रूपैयाँ घाटा रहेको भएतापनि हाललाई खुद्रा मूल्य यथावत नै राखिएको निगमले जनाएको छ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै हिजो बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको थियो । “निगमले सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिव रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवम् सरल ढङ्गबाट पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:April 4, 2023