चेतावनीसँगै उठेन सिंहदरबारको फोहोर

  Sampatti News Online

April 9, 2023

काठमाडौँ-  शनिबार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखे,’ आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।‘ ‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने’ साहले चेतावनी दिएका थिए । 

हिजो बिदा भएकाले सिंहदरबारबाट फोहोर उठ्ने कुरै भएन । तर, आज (आइतबार) भने कार्यालय समयअगावै उठ्नुपर्ने फोहोर अहिलेसम्म उठाइएको छैन । बालेनले घोषणा गरेको २४ घण्टामै सिंहदरबारको फोहोरको फोहोर उठ्न छोडेको हो । सिंहदरबारको फोहोर पुतली बगैचामा थुपारिएको छ ।

सिंहदरबार परिसरको फोहोर उठाउने जिम्मा काठमाडौँ महागनरपालिकाले निजी कम्पनीलाई सुम्पेको छ । परिवर्तन सेवा प्रालिले महानगरको आदेश आएपछि मात्र फोहोर उठाउने संकेत गरेको छ ।

परिवर्तन सेवाका अध्यक्ष मित्र घिमिरेले सिंहदरबारको फोहोर आजदेखि उठाउन छोडिएको बताए । उनका अनुसार सिंहदरबारबाट दैनिक चार टन फोहोर संकलन हुने गर्छ । विभिन्न मन्त्रालय र क्यन्टिनबाट फोहोर उत्पादन हुने गर्छ । ‘सिंहदरबारबाट दैनिक २ टन फोहोर सिसडोल जाने गर्छ,’ घिमिरेले भने,’ दुई टन कुहिने फोहोर र २ टन नकुहिने फोहोर सिंहदरबारबाट संकलन भइरहेको छ ।‘

महानगरको आदेश आएपछि मात्र सिंहदरबाट फोहोर उठाउने घिमिरेको भनाइ छ । आदेशविपरीत फोहोर उठाएर लगेमा सिसडोलमा महानगरले सबै गाडी रोकिदिने उनले जानकारी दिए ।

‘फोहोर उठाउन नपाएको जानकारी प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकामा जानकारी दिइसकेको छ,’ उनले अगाडि थपे,’  कतिपय ठाउँमा हामीले मौखिक जानकारी पनि दिएका छौँ ।‘ 

प्रकाशित मिति:April 9, 2023