रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

  Sampatti News Online

April 9, 2023

२६ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको ‘फोन टेप’ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

समानुपातिक पद्धतिबाट सांसद बनेका श्रेष्ठले स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

उनका अनुसार श्रेष्ठलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरिएको छ । ‘हाम्रो पार्टीको अनुशासन आयोगले उहाँमाथि एक साता लगाएर अनुसन्धान गर्छ । उहाँ दोषी देखिए कारबाही गर्छौँ । हाललाई भने उहाँलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरेका छौँ,’ महामन्त्री ढकालले भने । 

समानुपातिक सांसद श्रेष्ठले अडियोमा प्रसाईंसँग पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाउन दुई करोड रुपैयाँ मागेको, तर साे रकम आफूसँग नभएको भनिरहेको सुन्न सकिन्छ । प्रसाईंले पैसा जुटाइदिए मन्त्री बनेपछि आफूले सहयोग गर्ने प्रतिबद्धता श्रेष्ठले गरिरहेका छन् । अडियोमा प्रसाईं उनको प्रस्ताव मान्न तयार भएको पनि सुन्न सकिन्छ । 

तर, पार्टीले श्रेष्ठसँग कुनै पनि रकम नमागेको र उक्त कुरा झुटो भएको महामन्त्री ढकालले जिकिर गरे ।

प्रकाशित मिति:April 9, 2023