नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन: गभर्नर

  Sampatti News Online

April 11, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन् ।

‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । स्वस्थ छ । सानोतिनो धक्काले जाेखिम आउने अवस्था छैन । तथ्यांकहरू पनि बलिया छन्’ उनले भने ।

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थममा रहेको बताए । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनको भनाई छ । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको उनले बताए ।

उनले सूचक सुधार हुँदा पनि ब्याजदर केही माथि भएको भए पनि फागुनदेखि बेसरेट घट्दो दरमा पुगेको बताए । पूँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निष्कृय कर्जा केही बढेपनि धेरै माथि नपुगेको उनले बताए । अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने उनको भनाइ छ । बैकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्ने उनले बताए ।

ब्याजदरको विषयमा पछिल्लो माघ महिनादेखि निक्षेपको ब्याजदर घट्ने क्रममा रहेको र कर्जाको ब्याजदर बढ्न रोकिएको र अब घट्ने उनले बताए ।

प्रकाशित मिति:April 11, 2023