नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

Nepal Cover
२८ चैत्र २०७९, मंगलवार
image

काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ ।

प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताउनुभएको हो ।

“मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।”

उहाँले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उहाँको भनाइ छ ।