प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

  Sampatti News Online

April 13, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाख ३१ हजार ८१७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कन्चनपुरको भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखाअधिकृत गोविन्दराज उपाध्यायसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए।

ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सन प्रालि र त्यसका सञ्चालकद्वय ईश्वरीप्रसाद भट्ट र दिवाकर भट्टसमेतलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ। तत्कालीन प्रमुख प्रशासकीय भट्ट र लेखा अधिकृत उपाध्यायले ठेक्का सम्बन्धमा प्रदेशभर लागू भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७८ को व्यवस्थाबमोजिमको न्यूनतम दरलाई नजर अन्दाज गरी ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनले प्रत्यक्ष लाभ पाउने गरी सम्झौता गरेका थिए।

सम्झौताबाट मूल्य अभिवृद्धि करसमेत एक करोड ९५ लाख ७२ हजारबराबरको राजस्वसमेत चुहावट भएको अख्तियारको दाबी छ। उक्त रकमलाई बिगो कायम गरी त्यसको दोब्बर जरिवाना र सजायसहितको मागदाबी उनीहरूविरुद्ध छ। बैंक जमानत नलिई ठेकेदार कम्पनीसँग सम्झौता गर्दा नगरपालिकालाई मूल्य अभिवृद्धि करसमेत तीन करोड ४७ लाख ५९ हजार सरकारी रकम हानिनोक्सानी भएकोसमेत अख्तियारको ठहर छ । उनीहरूविरुद्ध सोही रकमको अर्को बिगो कायम गरी मुद्दा दायर भएको छ।

हिमालयसिंह ऐरको संयोजकत्वमा सुवास अधिकारी, विष्णुदेव भट्ट, दिपेन्द्र चौधरी सदस्यसमेत भएको खरिद इकाइ बैठकले नदीजन्य पदार्थको रोयल्टी उठाउने गरी बोलपत्र पुस्तिका तयार गरी स्वीकृतिको लागि पेस गरेका थिए । त्यही बोलपत्रको आधारमा ठेक्का सम्झौता भएको थियो । सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७८ बमोजिको प्राकृतिक स्रोतको करको कायम दररेटअनुसार बोलपत्र पुस्तिका तयार नगर्दा एक करोड ९५ लाख ७२ हजार रुपैयाँबराबरको राजस्व चुहाबट भएको अख्तियारको ठहर छ।

प्रकाशित मिति:April 13, 2023