काठमाडौं । वि.सं. २०७९ को अन्तिम कारोबार दिन, नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, उच्च अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार (आज) नेप्से २९.०७ अंकले घटेर एक हजार ९ सय ३४ दशमलब ४७ विन्दुमा बन्द भएको हो । बुधबार भने नेप्से उच्च अंकले बढेको थियो ।
त्यस्तै, आज एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा करिब दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २७ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३००.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०१.८० रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १५५.१० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५.५० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।