प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने

  Sampatti News Online

April 16, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही महिनाको तेस्रो सातातिर भारत भ्रमण जाने भएका छन् । केही दिन पहिला भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर प्रचण्डलाई भारत भ्रमणको निम्ता दिएका थिए । प्रचण्डले यही महिनाको तेस्रो साता भारत भ्रमण गर्ने योजना बनाएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति चाँडै नेपाल र भारतको विदेश मन्त्रालयले घोषणा गर्ने जनाइएको छ। गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड स्वयम्‌ले आफनो पहिलो विदेश भ्रमण भारत हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए। 

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड घरेलु राजनीतिक ‘उचार–चढाव’का कारण करिब ४ महिनापछि पहिलो विदेश भ्रमणमा जाने भएका हुन्। 

पुस १० गते नेकपा एमालेसहित दलहरुको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेपछि तत्कालीन सत्ता गठबन्धन फेरिएको छ। एमाले र राप्रपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए। 

अहिले प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी लगायत १० दलको समर्थन छ। 

प्रधानमन्त्री प्रचण्डको भ्रमणको लागि परराष्ट्रमन्त्री नियुक्त गर्न आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताइएको छ। प्रधानमन्त्रीको भारत भ्रमण र भ्रमणका अजेन्डाहरुको विषयमा १ तहको संवाद अगाडि बढेको बताइए पनि परराष्ट्रमन्त्री नियुक्त भएपछि मात्रै औपचारिक रुपमा संवाद अगाडि बढ्ने बताइएको छ। 

नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री हुने पक्का भएको छ। साउदले परराष्ट्रमन्त्रीको पद्‌भार सम्हालेपछि दुवै देशका परराष्ट्रमन्त्रीको स्तरमा भ्रमणका अजेन्डा तय हुने बताइएको छ। 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको गृहकार्य सुरु भइसकेको छ। 

प्रकाशित मिति:April 16, 2023