April 16, 2023
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड बढी रकम भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक विल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
आयोगले पौडलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ मागदाबी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि बनेका तथा हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार ९४५ रुपैयाँ मागदाबी गरिएको छ।
त्यस्तै, सहायक निर्देशक तथा तत्कालीन सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधि तथा हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार ८२७ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
तत्कालीन सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत मनिकमान महर्जनविरुद्ध ३ करोड ४४ लाख ६८ हजार ७२९ रुपैयाँ मागदाबी गरिएको छ।
हाल लेखा अधिकृतबाट अवकाश पाएका तत्कालीन सुरक्षण मुद्रण केन्द्रका रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार २८९ रुपैयाँ, तत्कालीन सुरक्षण मुद्रण केन्द्र तथा हाल जिल्ला समन्वय समिति काठमाडौंमा कार्यरत शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध ४० करोड १ लाख ३९ हजार ७३६ रुपैयाँ मागदाबी गरिएको छ।
इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्धक निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार ९२१ रुपैयाँ, मेपटेक विल्डिङ् सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार ३६८ रुपैयाँ र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौंविरुद्ध ८ लाख ६९ हजार ९७ रुपैयाँ मागदाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी कमिसन लिएर ठेक्का दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो। अस्वाभाविक लागत राखेर मिलेमतोमा खरिद गरी करोडौ घोटाला गरिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
सम्झौता विपरित गुणस्तहीन ट्रान्सफर्मर स्वीकार गरेको, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी करोडौं घोटाला गरिएको अख्तियारको ठहर छ।
प्रकाशित मिति:April 16, 2023
November 24, 2024