April 24, 2023
काठमाडौँ । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्ष तुलनामा ४५.३६ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) दर बढेसँगै नाफा प्रभावित हुन पुगेको हो ।
बैंकको नाफा घटे पनि खुद ब्याज आम्दानी वृद्धि भएको छ । सो अवधिमा बैंकले ६ अर्ब २४ करोड ७३ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ११.८६ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ५ अर्ब ५८ करोड ४६ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले कुल १ खर्ब ८१ अर्ब ५५ करोड ५० लाख ९३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७७ अर्ब ३६ करोड ६५ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेर ४.२० प्रतिशत पुगेको छ । बैंकको जगेडा कोष गत आवको समीक्षा अवधिको तुलनामा २.८२ प्रतिशतले बढी छ ।
देशको विद्यमान आर्थिक अवस्था, तरलताको अनिश्चितलगायतका कारण व्यवसाय विस्तारमा केही कमी आएको बैंकले जनाएको छ । पूँजी बजारमा आएको गिरावट, कोषको लागतमा भएको उल्लेख्य वृद्धि, बैंकको निष्क्रिय कर्जा वृद्धिले नाफा प्रभावित भएको छ । बैंकको वितरण योग्य नाफा ५५ करोड ४३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
बैंकले आगामी दिनमा कृषि तथा अन्य प्राथमिकता क्षेत्रलाई विशेष ग्राहयता दिँदै कर्जा गुणस्तर उत्कृष्ट कायम गर्ने प्रतिबद्धता जनाएको छ । ग्राहको चाहना तथा व्यवसायको सम्भाव्यता अनुरूप डिजिटल बैंकिङ सेवा ग्रामीण स्तरसम्म उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरूप किसान क्रेडिट कार्डको सेवा थप विस्तार गर्ने बैंकले जनाएको छ ।
व्यवसाय अन्तरनिहित जोखिमको प्रभावकारी व्यवस्थापन गर्दै उपलब्ध स्रोत परिचालन, थप स्रोत सङ्कलन र व्यवस्थापन तथा साधनको अधिकतम उपयोग गरी सेयर होल्डर र सम्बद्ध सरोकारवालाहरूको हित हुने गरी व्यवसाय विस्तर गर्ने बैंकको प्रतिबद्धता छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५६ रुपैयाँले घटेर ७.९ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०१.४ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति:April 24, 2023
November 24, 2024
November 23, 2024