लोकसेवाको ४ लाख डाटा गायब, पुन: दरखास्त आह्वान,शुल्क नलाग्ने (विज्ञापनसहित)

  Sampatti News Online

May 3, 2023

सर्भरको समस्याका कारण डाटा गुमेपछि लोकसेवा आयोगले विभिन्न विज्ञापनमा आवेदन दिएका झन्डै चार लाखलाई पुनः दरखास्त दिन आग्रह गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी डाटा रिकभरीको काम भइरहेको तर रिकभर हुने–नहुने यकिन नभएको भन्दै पुनः दरखास्त मागेको हो ।

लोक सेवा आयोगद्धारा गत मंसिर, पुस र माघमा प्रकाशित विभिन्न तहको विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा गायब भएको थियो ।

लोकसेवा आयोगसँग कात्तिकदेखि पुससम्मको डाटा गायब भएसँगै उसले पुन दरखास्त आह्वान गरेको हो ।  सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगले जनाएको छ ।

पुनः दरखास्त दिँदा पहिले जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने छ । पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । साथै साविकमा स्वीकृत हुन बाँकी रहेका दरखास्तसँग सम्बन्धित पुनः दरखास्तहरु जाँच गरी यथाशीघ्र स्वीकृतिको कार्य सम्पन्न गर्ने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

आयोग अहिले जेठको पहिलो सातादेखि विभिन्न तहको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ तर आयोगसँग यस आर्थिक वर्षमा आवेदन दिनेको तथ्याङ्क नै छैन। यस्तो अवस्थामा आयोगले कि पुनः आवेदन आह्वान गर्नुपर्ने अबस्थामा पुगेको हो ।

प्रकाशित मिति:May 3, 2023