नेपाल सरकारका पूर्व गृह सचिव पाण्डे पक्राउ

  Sampatti News Online

May 3, 2023

काठमाडौँ — उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ। प्रहरीले आज नै उनलाई पक्राउ गर्न अदालतबाट अनुमित लिएको थियो।

गत वर्ष उनी गृह मन्त्रालयमा सचिव थिए। मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए। 

यही प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन्। यसअघि प्रहरीले यस विषयमा सागर राई, केशव दुलाल र सानु भण्डारीलाई पनि पक्राउ गरिसकेको छ। 

उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। 

मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । भक्तपुर आसपासको जंगलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा उनी जडिबुटीबाट पक्राउ परेका हुन् । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए ।

उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । उच्च स्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् ।

हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा इन्द्रजितलाई पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गिरोहका नाइकेहरू विरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ ।

इन्द्रजित राईका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी भने नेपालबाहिर गएको आशंका छ । गिरोहका नाइकेको बयानअनुसार राईका बाबुछोराले २०७६ असारदेखि चैतसम्म साढे ५ करोड लिएका थिए ।

प्रकाशित मिति:May 3, 2023