नेप्से र कारोबार रकम दुबै घट्यो

  Sampatti News Online

May 10, 2023

काठमाडौं ।बुधबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको चौथो दिन बुधबार (आज) झिनो  अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से आज फेरी घटेको हो । आज नेप्से २.४३ अंकले घटेर एक हजार ८ सय ४१ दशमलब ९३ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको थियो ।

नेप्से सँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ स्टकको १६ हजार १०० पटकको कारोबारमा ५८ करोड ९१ लाख रुपैयाँ बराबरको १९ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ।

आज कारोबार भएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.५१ प्रतिशतले बढेर प्रतिकित्ता १६४ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एनसीसी डिबेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज तीन करोड ५४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:May 10, 2023