२४.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

Nepal Cover
२७ बैशाख २०८०, बुधबार
image

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा रेमिट्यान्स आउने क्रम २४.२ प्रतिशतले बढेको छ । चैत महिनामा मात्रै १ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान तथा आर्थिक वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ३९ करोड पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो । 

चैत महिनामा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई रु.९९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।