नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट

  Sampatti News Online

May 14, 2023

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले गिरोहलाई भेटेको स्वीकार गरेका छन् । मानव बेचबिखन गिरोहसँग खाणले प्रत्यक्ष सम्पर्क रहेको तथ्य खुलेको हो ।

प्रहरीलाई दिएको बयानमा खाणले गिरोहका नाइकेहरूसँग भेट गरेको स्वीकार गरेका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको अग्रसरतामा खाण र गिरोहबीच सम्पर्क स्थापित भएको बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणले देखाएको हो ।

केशव दुलाललाई मन्त्री खाणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ । गिरोहका नाइकेहरूसँग भेटेको खाणले प्रहरीसँग स्वीकारेका छन् ।

पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेपछि उनको बयानको आधारमा पूर्वमन्त्री खाण पनि पक्राउ परेका हुन् । पक्राउ पर्नुअघि पाण्डेले जस्तै खाणले पनि मोबाइल फर्म्याट गराएका थिए । पाण्डेको मोबाइलका डाटा रिकभर भइसकेका छन् । खाणको मोबाइल प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले आज सरकारी वकिलको रोहबरमा बयान लिने तयारी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री खाणकी पत्नी मञ्जुको नामसमेत जोडिएको छ । खाण गृहमन्त्री हुँदा गृह मन्त्रालयमा रजगज गरेकी आरजुलाई मात्रै बचाउन कांग्रेस संस्थापन पक्ष लागेको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म उच्चपदस्थसहित १२ जना पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ परिसकेका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भए पनि उनी भने हाल फरार छन् ।

प्रकाशित मिति:May 14, 2023