रेशम चौधरीलाई सर्वोच्चबाट जन्मकैदको फैसला

  Sampatti News Online

May 16, 2023

काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले हुने उच्च अदालत दिपायलको फैसला नै सदर गर्दै चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबार समेत त्यसलाई निरन्तरता दिएको हो ।

टिकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई आज मङ्गलवार सर्वोच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको हो । टिकापुर घटनामा दोषी ठहर भएका चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् ।

प्रकाशित मिति:May 16, 2023