प्रहरी अनुसन्धान अझै केही दिन लाग्ने: नक्कली भुटानी शरणार्थी

  Sampatti News Online

May 19, 2023

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानबिन गरिरहेको नेपाल प्रहरीले आफ्नो अनुसन्धानलाई अन्तिमतिर पुगेको बताए पनि प्रतिवेदन बुझाउन केही दिन लाग्नेभएको छ । प्रहरीले उक्त प्रकरणमा संलग्न रहेकाहरूलाई संगठित अपराध र ठगीमा मुद्दा चलाउने गरी प्रतिवेदन तयार गरेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राज्यविरुद्धको अपराधको मुद्दा समेत थप गरी प्रतिवेदन बुझाउन आग्रह गरेपछि केही दिन लम्बिने भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आरोपीसँगको बयान लिने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै जिल्ला सरकारी वकिलको कार्यालयबाट थप निर्देशन आएकाले सोहीबमोजिम काम भइरहेको हुँदा प्रतिवेदन बुझाउन केही समय लाग्ने बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका अझै केही व्यक्ति पक्राउ नपरे पनि हदम्यादका कारण प्रहरीले पक्राउ परेकासँग बयान लिएर प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

प्रहरीले अहिलेसम्म उक्त प्रकरणमा संलग्न रहेको अभियोगमा १५ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका आरोपीको बयानलाई आधार मानेर प्रहरीले अझै १६ जना पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

अहिलेसम्म प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्व सांसद आङ टावा शेर्पा, रायमाझीका पुत्र सन्दीप रायमाझी, बिचौलियाहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, नेपाल हज कमिटीका अध्यक्ष समसेर मियाँलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उक्त प्रकरणमा जोडिएका अन्य व्यक्तिको नाम भने गोप्य राखेको छ । यस घटनामा संलग्न रहेर पक्राउ नपरेका व्यक्तिहरू भाग्न सक्ने भन्दै प्रहरीले उनीहरूका बारेमा कुनै कुरा सार्वजनिक गरेको छैन । साथै खोजीको सूचीमा रहेकाहरूको खोजी पनि जारी राखेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उक्त प्रकरणमा संलग्न रहेका बिचौलियालाई पक्राउ गरेपछि उनीहरूको बयानका आधारमा विभिन्न पार्टीका नेताहरूलाई पोलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा बिचौलियाहरूले पूर्व गृहमन्त्री खाँणलाई ६ करोड र पूर्व मन्त्री रायमाझीका बाउ छोरालाई ३ करोड, डा. इन्द्रजित राईलाई ५ करोड, सचिव पाण्डेलाई ५० लाख र अन्य व्यक्तिलाई पनि पैसा बुझाएको बताएको अनुसन्धानमा संलग्न एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

तर, पक्राउ परेका नेताहरूले भने बिचौलियाले लगाएको आरोपलाई अस्वीकार गरेको ती अधिकृतले बताए । अनुसन्धानको क्रममा बिचौलियाले नक्कली भुटानी शरणार्थी बनेर युरोप अमेरिका जाने व्यक्तिसँग चेकमा भन्दा पनि नगद लिएको ती अधिकृतले जानकारी दिए । पीडितसँग नगदमा पैसा लिएर नेताहरूलाई भने बैंक चेकमार्फत कारोबार गरेको पनि ती अधिकृतले जानकारी दिए ।

बिचौलियाले गृह मन्त्रालयका अन्य कर्मचारी र गृह मन्त्रालयकै सवारी साधन प्रयोग गर्ने र ती नक्कली भुटानी शरणार्थी बनेर जान खोज्नेलाई विभिन्न ठाउँमा लैजाने ल्याउने गर्नुका साथै संकलन भएको रकमसमेत सोही सवारी साधनमा राखेर सिंहदरबारका साथै विभिन्न शक्ति केन्द्रमा समेत पु¥याउने गरेको पाइएको पनि ती अधिकृतले जानकारी दिए ।

प्रकाशित मिति:May 19, 2023