कर्मचारीप्रति आमनागरिकको अविश्वास बढ्दो: पूर्वमन्त्री भुसाल

  Sampatti News Online

May 19, 2023

काठमाडौँ, ५ जेष्ठ । पूर्वमन्त्री पम्फा भुसालले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीप्रति आम नागरिकको अविश्वास बढ्दै गएकोले जिम्मेवारपूर्ण ढंगले काम गरी जनताको विश्वास जित्नुपर्ने बताएकी छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी सञ्चय कोषको शुक्रबार राजधानीमा सुरु भएको केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री भुसालले कर्मचारी ट्रेड युनियनप्रति बढ्दै गएको नकारात्मक धारणा मेटाउन कर्मचारीवर्गले इमान्दारितापूर्वक कार्यसम्पादन गर्नुपर्ने बताएकी हुन् । भुसालले देश संघीयतामा गएपनि प्रशासनिक पुनर्संरचना हुन नसकेको औँल्याउदै कर्मचारी सञ्चय कोषको सेवाप्रवाहलाई आधुनिक प्रविधिको उपयोग गर्दै चुस्त दरुस्त बनाउनुपर्ने सुझाव दिइन् ।
महाधिवेशनमा बोल्दै कोषका प्रशासक जितेन्द्र धितालले कोषको समग्र विकासका निम्ति राज्य, व्यवस्थापन, कर्मचारी ट्रेड युनियन सबैबीच समन्वय भएमा मात्र संस्थामा सुमधुर कार्यवातावरण सृजना हुने बताए । प्रशासक धितालले कोषको सेवाप्रवाहलाई आधुनिकीकरण गर्दै कोषलाई नेपालको अग्रणी सामाजिक सुरक्षा संस्थाका रुपमा विकसित गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका संगठनका संरक्षक शंकर प्रसाद अर्यालले संगठनको तर्फबाट कर्मचारी सेवासुविधा, संस्थागत सुदृढीकरण लगायतका विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए । दुईदिने महाधिवेशनले संगठनको नयाँ नेतृत्व समेत चयन गर्ने संगठनका कार्यवाहक अध्यक्ष रामहरि गौतमले जानकारी दिए ।

प्रकाशित मिति:May 19, 2023