May 21, 2023
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज (आइतबार) छलफल हुँदैछ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहिले धारणा राख्ने भएका छन् ।
गत हप्ता बसेको एमालेका केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गतेको संसदमा बोल्ने बताएका थिए। तर जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएकाले संसद् सचिवालयले मन्तव्यको कार्यक्रम कटौती गरेको थियो।
अध्यक्ष ओलीले शनिबार आफ्नो पार्टीका सांसदहरूसँको छलफलमा सरकारको नीति तथा कार्यक्रमको कडा प्रतिवाद गर्न र पारित हुन नदिन निर्देशन दिएका छन्।
एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा छलफलका क्रममा अध्यक्ष ओलीले बोल्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट सरकारको नीति तथा कार्यक्रमबारे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पहिले बोल्नु हुन्छ । समसामयिक विषयमा पनि बोल्नु होला ।’ शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आइतबारको बैठकको प्रारम्भमा नै आफूले नीति तथा कार्यक्रममाथि धारणा राख्ने बताएका थिए ।
हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु,’ ओलीले शनिबार बसेको संसदीय दलको बैठकमा भनेका थिए । एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने निष्कर्ष निकालेको थियो ।
सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान अध्यक्ष एव् संसदीय दलका नेता ओलीले बैठकमा राखेका थिए । उनले सरकारको नीति तथा कार्यक्रम शब्दको पुलिन्दा मात्र नभएको आरोप लगाएका थिए । आज संसदमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने जनाइएको छ ।
प्रकाशित मिति:May 21, 2023
November 24, 2024