नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा

  Sampatti News Online

May 24, 2023

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर भएको छ ।

एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो । आरोपितहरुमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भन्नुभयो, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरूको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ ।

दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ । सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ ।

जिल्ला न्यायाधिवक्ता खत्रीका अनुसार निजहरूविरुद्ध २७ करोडभन्दा बढीको बिगो रहेको छ भने कैद सजाय ठगी र किर्तेमा सात वर्ष कैद, राज्यविरुद्धको कसुरमा पाँच वर्ष कैद र जरिवाना पनि छ । सङ्गठित र एकीकृत कसुरमा कानूनअनुसार गरिनेछ ।

प्रकाशित मिति:May 24, 2023