एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

Nepal Cover
१६ जेष्ठ २०८०, मंगलवार
image

काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा अज्ञात समूहबाट दिनदहाडै लुटपाट गरिएको छ।  महोत्तरी गाउँपालिका- २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

यकिन रकम कति लुटेको हो भन्ने नखुलेको डिएसपी गिरीले बताए। चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए । ‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन् ।

ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ। अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ।

केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ। प्रहरीका अनुसार लुटपाट भएको रकमको विवरण आइसकेको छैन। तर बैंकले भने करिब ३५ लाख रुपैयाँ लुटेको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ।

लुटपाट गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।