प्रचण्डको प्रष्टीकरणः महाकाल मन्दिरको प्रोटोकलका कारण गेरु वस्त्र लगाएको हुँ

  Sampatti News

June 4, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाल मन्दिरको प्रोटकलका कारण आफूले पहेंलो वस्त्र लगाएको प्रष्टीकरण दिएका छन्।

आफ्नो चारदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रमुख अथितिले पहेंलो वस्त्र लगाउनुपर्ने प्रोटकल भएकोले पहेंलो लगाएर पूजा गरेको बताएका हुन्।

‘म त अहिले कम्युनिष्ट मात्रै होइन नि। प्रधानमन्त्री पनि हो नि। प्रधानमन्त्रीले त सबैलाई समेटेर जानुपर्छ। मसँग जाने सेक्युरिटीले गेरु वस्त्र नलाउन पाए हुन्थ्यो भनेर निकै बल गर्नुभो। तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अथितिले त्यो लाउनैपर्ने प्रोटोकल रहेछ,’ उनले भने,

‘त्यो प्रोटोकल मिच्न पर्ने, अब प्रोटोकल मिचेर मलाई लाउन नदिनुस् भनेर भन्दाखेरी के हुने ? भारतका करोडौं जनताको मनमा चिसो पस्ने भो नेपालको प्रधानमन्त्रीप्रति। त्यो देखेर फाइदा हुन्थ्यो , म लाउन्न भन्दा के हुन्थ्यो र ? एक अरब मान्छेको मनमा चिसो पस्थ्यो।’

साथै मन्दिरमा चढाएको रुद्राक्ष परराष्ट्रमन्त्रीले लगेको पनि उनले बताए। नेपालमा श्रीमतीको स्वास्थ्यको लागि रुद्राक्ष चढाएको भनेर हल्ला गरिएको उनले गुनासो गरे।

उनले भने, ‘रुद्राक्ष पराराष्ट्रमन्त्रीले लानुभएको हो। उहाँले लगेको मैले नछुने भन्ने त हुँदैन। श्रीमतीको स्वास्थ्यको लागि चढाएको होइन। तपाईंहरुलाई थाहा छ, मेरो श्रीमतीको निको हुने खालको बिमार होइन।’

प्रकाशित मिति:June 4, 2023