भ्रष्टाचार र दण्डहीनताले असफल राष्ट्र बनाउने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ठहर

  Sampatti News Online

June 4, 2023

काठमाडौँ । भ्रष्टाचार, अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले मुलुकलाई खोक्रो पार्दै लगी असफल राष्ट्र बनाउन सक्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । ट्रान्सपरेन्सी नेपाल र यससँग आवद्ध मुलुकभरका संस्थाको भेलाले सो ठहर गरेको हो । गैरकानूनी तरिकाले आर्जित सम्पत्तिलाई स्वतः वैध तुल्याउने बाटो खोल्ने, व्यक्ति र समूह विशेषको निहित स्वार्थ पोषणप्रति अभिलक्षित निर्णयलाई नीतिगत निर्णयको नाम दिएर दण्डहीनतालाई प्रश्रय गर्ने, ठूला–ठूला भ्रष्टाचारका मामिलामा कारवाही नै नचल्ने र तिनमा संलग्न उच्चपदस्थले स्वतः उन्मुक्ति पाउने परिस्थिति सिर्जना गर्ने, आफ्नै नागरिकलाई अनागरिक बनाएर किर्ते कागजात तयार गरी शरणार्थीका रुपमा विदेश पठाउन कार्यपालिकाका वरिष्ठ सदस्यको संलग्नतामा संगठित अपराध गरिने जस्ता सर्वथा आपत्तिजनक कार्यप्रति भेलाले खेद प्रकट गरेको छ । हरेक दृष्टिले प्रत्युत्पादक ठहरिएको सांसद विकास कोषलाई अर्कै नाममा जगाई हरेक सांसदका नाममा पाँच करोड रुपैयाँ बजेट छुट्ट्याउने र तलदेखि माथिसम्मका सबै अदालतहरुले जघन्य फौजदारी अपराधमा दोषी ठह-याइएका व्यक्तिहरुको सजायमिनाहा गर्नेजस्ता हालकाक्रियाकलापले मुलुकमा भ्रष्टाचारलाई झन् संस्थागत र दण्डहीनतालाई थप बलियो बनाएको भेलाले निष्कर्ष निकालेको छ । राजनीतिक एवं आर्थिक स्वार्थका लागि मुलुकका यावत् कानून र न्याय प्रणाली समेतलाई सर्वथा निस्तेज र अर्थहीन तुल्याउने यस्ता कृत्य मुलुक र लोकतन्त्रका लागि तीव्र प्रत्युत्पादक हुने र यसले मुलुकलाई अकल्पनीय संकटको भुमरीतर्फ धकेल्न सक्नेतर्फ भेलाले मुलुकको जिम्मेदारी लिएर बसेका सबै राजनीतिक दल, संसद्, सरकार र नेपाली जनता समेतलाई सचेत गरएको छ । यस परिप्रेक्ष्यमा भ्रष्टाचार, अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनको प्रवद्र्धन गर्ने सबै निर्णय फिर्ता लिई मुलुकलाई सदाचार र सुशासनको बाटोमा अघि बढाउन ट्रान्सपरेन्सी नेपाल र यससँग आवद्ध मुलुकभरका संस्थाको काठमाडौँमा जेठ १९ र २० गते सम्पन्न भेलाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । अध्यक्ष पद्मिनी प्रधानाङ्गले दिनुभएको जानकारी अनुसार ट्रान्सपरेन्सी नेपालसँग आबद्ध संस्थामा महिला जागरण संघ, इलाम, नागरिक सरोकार मञ्च, मोरङ, मानवअधिकार र वातावरण विकास केन्द्र नेपाल, उदयपुर, मानवअधिकार सचेतना तथा विकास केन्द्र, दोलखा, भ्रष्टाचार विरुद्ध अभियान, चितवन, सुशासनका लागि नागरिक समाज, पोखरा, पारदर्शी नेपाल सिद्धार्थनगर, रुपन्देही, पारदर्शी सरोकार समूह, बुटवल रुपन्देही, सुशासन अभियान,गुल्मी, बागेश्वरी असल शासन क्लब, बाँके, नागरिक सरोकार संघ, सुर्खेत सदाचारका लागि सामाजिक पहल, धनगढी र समाज कल्याण समाज, दार्चुला रहेका छन् ।

प्रकाशित मिति:June 4, 2023