June 4, 2023
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशवकुमार शर्माको आगमनपछि मन्त्रालयको वातावरण नै फेरिएको छ । शर्माले मन्त्रालयको नेतृत्व सम्हालेपछि सबैले महसुस गर्नेगरी तीव्र रुपमा सुधारका काम भएका छन् । राष्ट्रिय सडक,पुल तथा रेलजस्ता यातायात प्रणालीलाई सुव्यवस्थित बनाउन उहाँ सम्बन्धित भौतिक पूर्वाधारको विकास र विस्तारका निम्ति निरन्तर क्रियाशील हुनुहुन्छ । नेपालजस्तो विकट भौगोलिक बनावट र सीमित श्रोत साधन भएको देशको पूर्वाधार विकास गर्ने कार्य आफैँमा चुनौतिपूर्ण छ तर शर्माको लगनशीलताका कारण यस क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइरहेको छ । मन्त्रालयको उपलब्धिको पछिल्लो तथ्यांकले यसको पुष्टि गर्दछ । मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाको सफल कार्यान्वयनमा शर्माले अभिभावकीय भूमिका निर्वाह गरिरहनु भएको छ ।
सडक,रेल, जलमार्गजस्ता पूर्वाधारको विकास गरी राष्ट्रिय रणनैतिक यातायात सञ्जालमार्फत देशका विभिन्न भौगोलिक तथा आर्थिक क्षेत्रहरुलाई एक अर्कासँग आबद्ध गरी मुलुकको आर्थिक एवं सामाजिक विकास गर्ने लक्ष्यका साथ उहाँ अहोरात्र खट्नुभएको छ ।
भौतिक पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तनको सूत्रपात गर्ने श्रेय पाइसक्नुभएका शर्माले मन्त्रालयका सबै महाशाखा, शाखा, विभाग, कार्यालय र निकायमा कार्यरत जनशक्तिको प्रभावकारी परिचालन गर्नुभएको छ । नेपाल इञ्जिनियरिंग सेवाको विशिष्ट श्रेणीको पदलाई जागिर होइन सेवाको दुर्लभ अवसरका रुपमा लिई उहाँले मन्त्रालयको कामकार्वाही सञ्चालनमा छोटो समयमै राम्रो दक्षता हासिल गरिसक्नुभएको छ । उहाँलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिवका रुपमा पाउँदा सबै हर्षित छन् । कतिपय मफिया र कालोसूचीमा परेका व्यवसायीले भने उहाँको उपस्थितिका कारण तनाव समेत महसुस गरेका छन् ।
सडक विभागको महानिर्देशकदेखि ऊर्जा, जलश्रोत र सिँचाइ मन्त्रालय हुँदै भौतिक पूर्वाधार मन्त्रालयको सचिवसम्मको यात्रामा शर्मा एक अब्बल राष्ट्रसेवकका रुपमा स्थापित भइसक्नुभएको छ । एक कुशल विकास प्रशासकमा हुनुपर्ने सबै गुण छन् शर्मासँग । उहाँको कार्यकुशलताबाट सेवाग्रहीमात्र होइन सरोकारवालाका साथै सहकर्मी र मातहतका कर्मचारी पनि उत्तिकै प्रभावित छन् । नेपाल सरकारले नियमानुसार दिँदै आएको पारिश्रमिकमा चित्त बुझाई दिनरात निःस्वार्थ ढंगले देश र नागरिकको सेवामा दत्तचित्त भएर लाग्नुभएको छ शर्मा । नियममा अडिग रहने शर्मा मन्त्रालयको काममा सार्वजनिक विदाका दिनमा समेत व्यस्त देखिनुहुन्छ । कार्यसम्पादनका क्रममा पेशागत निष्ठा, मर्यादा र कार्यदक्षताको राम्रो ख्याल राख्नुहुने उहाँमा आफू कार्यरत मन्त्रालयप्रति अपनत्वको भाव छ । कामको चापका बीच पनि प्रसन्न रहनु, प्रतिकूल परिस्थितिमा नआत्तिनु र स्वविवेकले निर्णय लिनु उहाँका विशेषता हुन् । शर्मा राजनीतिक दलका नेता, मन्त्री, कार्यालयका आगन्तुक, जनप्रतिनिधि,उपभोक्ता र कर्मचारीलाई उत्तिकै सम्मानपूर्वक व्यवहार गर्नुहुन्छ । विषयवस्तुको गहन अध्ययनपश्चात् योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने शर्माको व्यक्तित्व प्रज्ञा र करुणाले भरिपूर्ण छ । जागिरे जीवनका अतिरिक्त साहित्य,संगीत र कलाजस्ता विधामा पनि उहाँको रुचि छ ।उहाँ नेपाली, अंग्रेजी र हिन्दी भाषामा दक्षता राख्नुहुन्छ ।
। निजामती सेवाको उच्च पदमा पुगेपनि शर्माको मनमा कुनै दम्भ,अहंकारको भाव छैन । उपलब्ध श्रोत साधनको प्रभावकारी सदुपयोग भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई एक नमूना मन्त्रालयका रुपमा विकास गर्न शर्मा सदैव प्रतिबद्ध हुनुहुन्छ । प्राविधिक क्षेत्रका व्यक्ति कम अध्ययनशील हुन्छन् भन्ने मान्यतालाई चिर्दै समय बचेको खण्डमा प्राविधिक शिक्षा सम्बन्धी अध्ययन अनुसन्धान, प्रशिक्षण ,अभिमुखीकरण तथा नवप्रवेशी प्राविधिकसँग अनुभव आदानप्रदानमा सदुपयोग गर्दै आउनुभएको छ । उहाँको व्यक्तित्व सबै राष्ट्रसेवकका लागि अनुकरणीय छ ।
नेपाल सरकारको प्राविधिक सेवामा लामो अनुभव संगाल्नुभएका भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा शर्माले सचिवका रुपमा जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । कतिपय एउटै मन्त्रालयमा दुईजना सचिव कार्यरत रहेको स्थितिमा उहाँ एक्लैले ठूलो कार्यभार भएको मन्त्रालयको बागडोर सम्हाल्न पाउनुलाई उहाँका विगतका सत्कर्मको प्रतिफलका रुपमा लिन सकिन्छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिव पदमा कार्यरत रहँदा विकास प्रशासनका क्षेत्रमा सुशासन प्रवर्द्धन गराउने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । अख्तियारमा कार्यरत रहँदा नै शर्मा सचिव पदमा बढुवा हुनुभएको थियो । सचिव बढुवासँगै उहाँलाई ऊर्जा,जलश्रोत तथा सिँचाई मन्त्रालयको सचिवको जिम्मेवारी दिइयो । ऊर्जा मन्त्रालयमा कार्यरत रहँदा उहाँले राष्टिय गौरवका आयोजनाको निर्माणलाई तीव्रता दिनुका साथै जल तथा सौर्य ऊर्जा एवं जलश्रोत तथा सिँचाइ क्षेत्रका विकासका लागि योगदान गर्नुभएको थियो ।
कोभिड– १९ महामारीको प्रतिकूल परिस्थितिका बीच उहाँले सडक विभागको महानिर्देशकका रुपमा नेतृत्व लिनुभएको थियो ।
विभागको महानिर्देशक रहँदा शर्माले कोरोना महामारीका त्रासका वावजुद आफ्नो लक्ष्यको करिब ६० प्रतिशत कार्य सम्पन्न गर्नुभएको छ । शर्माले तत्कालीन समयमा सरकारले लिएका लक्ष्यहरु पूरा गराउन महानिर्देशक शर्मा रातदिन नभनी फिल्डमा खटिएको चर्चा विभागमा अहिले पनि हुने गरेको छ । महानिर्देशक पदमा कार्यरत रहँदा स्वच्छ छविका शर्माले काममा ढिलासुस्ती काम गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा समावेश गरी कडा कार्वाही गर्नुभएको थियो । कालोसूचीमा परेका तथा समयमै काम सम्पन्न नगरी म्याद थप गराउन चाहने निर्माण व्यवसायी उहाँको कार्यकक्षमा छिर्न हच्किन्थे ।स्थलगत रुपमा आफैँ निर्माणस्थलमा पुगी सडकको प्राविधिक अध्ययन अनुगमन गरी गुणस्तर तथा मापदण्ड परीक्षण गरी आवश्यक निर्देशन दिने गर्नुहुन्थ्यो ।
उपत्यकाका मूल सडकदेखि भित्री बाटासमेत चिल्ला र फराकिला बन्दै गएका थिए। सर्वसाधारणले सुविधा सम्पन्न सडकमा आवतजावत गर्ने मौका पाएका थिए । उहाँको कार्यकालमा बनेका सडक भविष्यको दूरगामी आवश्यकतालाई मध्यनजर गरी बनाइएका छन् । तिनले विकसित मुलुकको झल्को समेत दिने गरेका थिए । उहाँको कार्यकालमा उपत्यकाका अधिकांश सडकहरु जीर्ण रहेको अवस्थामा धेरै योजनाहरुले कामको लय समातेको जानकारहरु बताउँछन् ।
प्रकाशित मिति:June 4, 2023
November 29, 2024