शेयर बजारमा उच्च अंकको वृद्धि

  Sampatti News Online

June 4, 2023

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक तीव्र गतिमा उच्च अंक बढेको छ। लगानीकर्ताले तिर्ने ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै नेप्से उच्च अंक बढ्न पुगेको हो। आजको कारोबारको सुरुवातमा शेयर लगानीकर्ता आन्दोलित भएका कारण कारोबार रकम बढ्न सकेको थिएन । तर, लगानीकर्ताहरुले आन्दोलन फिर्ता लिएपछि भने नेप्से बढेको हो ।   

लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका कारण कारोबार अवधिभन्दा १ घण्टापछि खुलेको बजार, १५ मिनेटमा नै ५० अंकभन्दा बढी बढेको थियाे। साे अवधिसम्ममा १३ करोड रुपैयाँ बराबरको साढे ३ लाख कित्ताभन्दा बढी शेयर कारोबार भएको छ।

आज नेप्से ५३.०३ अंकले बढेर एक हजार ९ सय १९ दशमलब ३७ विन्दुमा बन्द भएको छ । आज एक अर्ब ६५ करोड ६३ लाख ४० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ । 

आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति:June 4, 2023