June 5, 2023
काठमाडौं । साताको दोस्रो नेप्से परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज (सोमवार) नेप्से परिसूचक २.८८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२० अंक र सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७७ स्टकको ३६ हजार ५६८ पटकको कारोबारमा १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार रिभर फल्स पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २६ रुपैयाँ ८० पैसा बढेर २९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र गोर्खाज फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शिवम् सिमेन्ट्सको शेयरमूल्य सर्वाधिक ४.५० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन आइएमई जनरल इन्स्योरेन्सको करिब १० करोडको शेयर कारोबार भएको छ भने चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रकाशित मिति:June 5, 2023