भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर दशगजानजिक वृक्षरोपण गर्दै

  Sampatti News Online

June 6, 2023

नेपालगञ्ज – भारतले दशगजानजिक वृक्षरोपण गर्ने तयारी गरेको छ।

अन्तर्राष्ट्रिय कानुनलाई मिचेर दशगजासँगै सडकजस्तो बाँध बनाएको भारतले त्यही बाँधको छेउछेउ वृक्षरोपण गर्ने तयारी गरेको हो। वृक्षरोपणका लागि भारतले खाल्टो खनेको छ।

एक हजार ७ सय ५१ किलोमिटरको नेपाली सीमामा दशगजासँगै जोडेर भारतले सडकजस्तो बाँध बनाइसकेको छ। त्यसको नेपालले विरोध गरे पनि भारतले बेवास्ता गरिरहेको छ। त्यही बाँधलाई अझ मजबुद गराउन भारतले वृक्षरोपण गर्ने तयारी गरेको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५, जमुनाहागाउँ पारीपट्टी भारतले वृक्षरोपणका लागि खाल्टो खनेको पाइएको हो। दशगजानजिक कुनै पनि काम गर्दा दुई देशका अधिकारीका बीचमा कुरा हुनुपर्नेमा भारतले एकतर्फी रुपमा बाँध बनाएजस्तै गरी वृक्षरोपण गर्न थालेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दशगजानजिक गर्न थालिएको वृक्षरोपणको तयारीको निरीक्षण गरेका छन्। प्रजिअ आचार्यले भारतले आफ्नोतिर सडकको छेउमा वृक्षरोपण गर्न थालेको र हाम्रोमा पर्ने गरी नबनाउन भनेको जानकारी दिए।

भारतले केही महिनादेखि नै वृक्षरोपणका लागि खाल्टो खनिरहेको छ। दशगजादेखि १० मिटर पनि नछोडेकोले नेपालले आपत्ति जनाउनुपर्ने आवाज उठेको छ।

प्रकाशित मिति:June 6, 2023