इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्न उठ्ने रहेछ: अर्थमन्त्री महत

  Sampatti News Online

June 6, 2023

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि जवाफ दिँदै अर्थमन्त्री महतले आफूले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको बताए ।

आफ्नो इमान्दारिमा एक इन्च पनि नहल्लिएको भन्दै बैठकमा उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।’

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन नदिएको भन्दै उनले पूर्वनासु श्रेष्ठलाई सरकारले नै नियुक्त गरेको र इन्ट्री गर्ने कार्यमा खटाइएको जानकारी दिए ।

अर्थमन्त्री डा. महतले भने, ‘ इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्न उठ्ने रहेछ । मैलै पारदर्शी ढंगबाट कुनै पनि प्रभावबाट मुक्त भएर काम गरेको छु ।’

यसका साथै उनले कुनै पनि खाले प्रभावबाट मुक्त भएर काम गर्ने प्रतिवद्धताको साथ अर्थमन्त्रालयमा आएको बताए । उनले भने, ‘अर्थमन्त्री हुने दिनदेखि नै एउटा मनमा बाचा र प्रतिवद्धता गरेर कुनै पनि खाले प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिवद्धताका साथ म त्यो अफिसमा बसेको हु ।’ 

बजेट निर्माण गर्ने क्रममा पनि सबै प्रतिवद्धता पालना गरेको बताउँदै उनले यो पदमा रहेसम्म त्यो जिम्मेवारीलाई पूर्ण कर्तव्यनिष्ठताका साथ पुरा गर्ने बताए । 

‘जहाँसम्म बजेट को राती १४ गते के भयो ? को अनाधिकृत व्यक्ति प्रवेश गर्यो किन गरियो भनेर एउटा पत्रिकामा आयो त्यसैलाई हावामा लिएर माननीय ज्युहरुले पनि यहाँ प्रश्न उठाउनु भयो । त्यसको स्पष्किरण अर्थमन्त्रालयबाट पनि विज्ञप्तीको रुपमा प्रस्तुत भएको छ’, उनले भने । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुले अर्थमन्त्री महतको जवाफ माग गरेका थिए । 

प्रकाशित मिति:June 6, 2023