नेकपा एमालेमा ७० वर्षे उमेरहद हटाइयो

  Sampatti News Online

June 7, 2023

काठमाडौं । नेकपा एमालेले पार्टी विधानमा भएको ७० वर्षे प्रावधान हटाएको छ । एमालेले अन्तर पार्टी निर्देशन जारी गर्दै कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेरहद हाललाई हटाइएको जानकारी दिएको हो ।

हालै सम्पन्न केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय समावेश गरेर जारी भएको अन्तर पार्टी निर्देशनमा उक्त प्रावधान हटाइएको उल्लेख छ ।

‘पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद हाललाई निलम्बन गर्ने,’ अपानिमा भनिएको छ । एमालेमा गएको विधान महाधिवेशनले ७० वर्षे प्रावधान राखेको थियो । यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर चुनाव जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान महाधिवेशनले गरेको थियो ।

तर, अहिले भने उक्त व्यवस्था हटाईएको छ । एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीमा ल्याउन उक्त निर्णय गरिएको बुझिएको छ । उनी उमेरले ७१ वर्ष नाघिसकेको एमालेका एक नेताले बताए ।

प्रकाशित मिति:June 7, 2023